प्रतिबन्धित र म्याद नाघेका औषधि बेच्दै अनुपमा भेटेरिनरी, महानिर्देशक ढकाल भन्छन्– यस्ता क्रियाकलाप गर्नेलाई जन्म कैद हुन्छ
काठमाडौं । मोरङमा सञ्चालित एक पोल्ट्री फार्ममा म्याद नाघेको औषधि र खोप लगाइएका ५ सय ब्रोइलर कुखुरा मरेका छन् । मोरङको बुढीगंगा गाउँपालिका वडा नं. ७ नेता चोकमा शिखा शाहले सञ्चालन गर्दै आएको उक्त पोल्ट्री फर्मका ती कुखुरालाई म्याद नाघेको औषधि खुवाइएको र म्याद नाघेकै खोप लगाइएका कारण मरेका खुलासा भएको हो । सुनसरीको इटहरीमा सञ्चालमा रहेको अनुपमा भेटेरिनरी फर्माले बिक्री गरेको उक्त औषधि र खोप लगाइएका कुखुरा मरेको खुलेको हो ।
कम्पनीलाई फिर्ता गर्न तयारी अवस्थामा राखिएका ती औषधि र खोप अनुपमा भेट फर्माले अनुचित नाफा कमाउने उद्देश्यले उक्त फार्मका कुखुरामा प्रयोग गर्न बिक्री गरेको थियो ।
‘कुखुरा के कारणले मरेको हामीलाई थाहा हुने कुरा भएन,’ पोल्ट्री फार्मकी सञ्चालक साहले भनिन्, ‘भेट फर्माकै प्राविधिक कर्मचारीले ल्याएर औषधि र खोप लगाएका हुन् । औषधि र खोप लगाइएपछि एकाएक कुखुराहरु मर्न थाले र के कारण रहेछ भनेर बुझ्दा औषधि र भ्याक्सिन नै म्याद नाघेको परेछ ।’
सञ्चालक साहका अनुसार १ हजार कुखुरा हालेकोमा ५ सय कुखुरा मरिसके र मर्ने क्रम जारी छ । उनका अनुसार इटहरीको ह्याचरी डिलरबाट कुखुराको चल्ला किनेर फार्ममा हालेको सोमबार २७ दिन पुगेको छ । ‘ऋण गरेर कुखुरा हालेको थिएँ,’ उनले भनिन्, ‘लकडाउनले केही आम्दानी पनि छैन, भएको कुखुरा पनि मरेपछि ऋण मैले कसरी तिरुँ, ममाथि अन्याय भयो ।’
अनुपमा भेट फर्माबाट औषधि तथा खोप लिएर गई फार्मका कुखुरामा खोप लगाएका फर्माका कर्मचारी पशु स्वास्थ्य प्राविधिक सञ्जय पराजुलीले नै आफूले म्याद नाघेको औषधि र खोप कुखुरालाई प्रयोग गरेको स्वीकार गरेका छन् । ‘फार्ममा गएर भ्याक्सिन लगाइयो,’ उनले भने, ‘पछि औषधिको लेबल राम्ररी हेर्दा खोपको म्याद नाघेको रहेछ ।’
अनुपमा भेट फर्माबाट औषधि किनेको विलभपाई आफूहरुसँग सुरक्षित रहेको उक्त पोल्ट्री फार्मकी सञ्चालक शिखा शाहले बताएकी छन् ।
म्याद नाघेका औषधि तथा भ्याक्सिनका कारण कुखुरा मरेका सम्बन्धमा बुढीगंगा गाउँपालिकाका अध्यक्ष बालचन्द्र माझीले आफूले यससम्बन्धमा थप खोज गरी बदमासी गर्नेमाथि कारवाही गराउने भेट खबरसँग बताए ।
अवैध तथा म्याद नाघेको औषधि बिक्री गर्नेलाई जन्मकैद हुन्छः महानिर्देशक ढकाल
औषधि व्यवस्था विभागका महानिर्देशक नारायण प्रसाद ढकालले अवैध तथा म्याद नाघेको औषधि बिक्री वितरण गर्नेलाई जन्मकैद र ३ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको बताए ।
‘अवैध तथा म्याद गुज्रेको औषधि आयात, बिक्री वितरण गर्नेलाई जन्म कैद र जरिवानाको व्यवस्था छ,’ उनले भने, ‘कसैलाई यस्तै अन्याय परेको भए औषधि व्यवस्था विभागको कार्यालय वा विभागकै अन्य कार्यालयमा उजुरी गर्न सक्नुहुन्छ ।’ मोरङमा भएको यस्तो अवैध कार्यविरुद्ध विराटनगरस्थिति औषधि व्यवस्था विभागअन्तर्गतको कार्यालयमा उजुरी गर्न सक्ने पनि उनले बताए ।