तनहुँको भानु नगरपालिकाले चितुवा गणना गर्ने

दमौली । तनहुँको भानु नगरपालिकाले चितुवाको गणना गर्ने भएको छ ।

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि डिभिजन वन कार्यालयले यहाँको जङ्गलमा रहेका चितुवा गणना गर्न लागेको हो ।

चितुवाको आक्रमणबाट एक वर्षमा भानु नगरपालिका तीन जना बालबालिकाले ज्यान गुमाएका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जङ्गल क्षेत्रमा चितुवाको आहार लोप हुँदै जान थालेपछि चितुवा मानव बस्तीमा पसेर आक्रमण गर्न थालेकोे जानकारी दिए । उनले भने, ‘जङ्गलमा पाइने चितुवाको आहारा मानिसले मारिदिने गर्नाले पनि चितुवा आहारा खोज्दै बस्ती छेउछाउ आउन थालेको छ, जसकारण चितुवाले मानवमाथि आक्रमण गरेर ज्यान लिने गरेको देखियो ।’

बरालका अनुसार आर्थिक वर्ष ०७७र७८ मा यहाँ रहेका चितुवा गणना गरिनेछ । यसका लागि कार्यालयले भानु नगरपालिकाभित्रका वनजङ्गल क्षेत्रको सर्भे गरेको छ । करिव चार हजार २०० हेक्टर वन क्षेत्रमा ३६ वटा बिन्दु पहिचान गरिएको छ ।

चितुवाको आहारा प्रजाति संरक्षण गर्न सकिए चितुवा मानव बस्तीमा नआउने र मानवलाई आक्रमण नगर्ने कार्यालय प्रमुख बरालको भनाइ छ । चितुवाको आहारा प्रजाति संरक्षणका लागि घाँसे मैदानको अवस्था अध्ययन, पोखरी संरक्षणलगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *