कोरोना र पशुपन्छी : भ्रम र सत्य
–डा. प्रकाश अधिकारी, पशु चिकित्सक ।
चीनको बुहान प्रान्तबाट सुरु भएको नोवेल कोरोन भाइरस अर्थात् कोभिड १९ ले अहिले पूरा विश्वलाइ नै आतंकित बनाइरहेको छ । यो लेख तयार पार्दासम्म यो भाइरसको संक्रमणबाट १६ हजार ५ सय ५८ जनाले ज्यान गुमाइसकेका छन् । १ सय ९५ देशका ३ लाख ८१ हजार ७ सय ६१ मानिस संक्रमित भएका छन् । यस्तो महामारीको पृष्ठभूमिा उक्त भाइरस संक्रमणसँग सम्बन्धीत विभिन्न किसिमका भ्रमाक समाचार, सूचना, जानकारीलगायत सामग्री फेसुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् । विशेष गरी यो भाइरसको उत्पति र सर्ने माध्यम पशुपन्छी भएको तथ्यहीन समाचारहरु भाइरल बनिरहेका छन् । यस्तो अवस्थामा हामीले लिने ज्ञान वा जानकारी पनि सत्य हुनु आवश्यक छ । यसै विषयमा यहाँ बुझाउने प्रयास गरिएको हो ।
कोभिड १९, कोरोना भाइरस परिवारको एक नयाँ प्रकारको सदस्य हो । योलगायत अन्य थुप्रै भाइरसहरु यस परिवारमा पर्दछन् । कोरोना भाइरस परिवारको विशेषता मानिस र पशुपन्छी दुबैमा संक्रमण गराउने भएता पनि अहिले देखा परेको कोभिड–१९ ले पशुपन्छीमा संक्रमण गरेको तथ्यांक छैन । गत फेब्रुअरी महिनामा एक कुकुरमा कोरोना भेटिएको समाचार आए पनि केही समयपछि उक्त कुकुरमा कोरोना संक्रमण नभएको प्रमाणित भएको थियो । चीनमा यो भाइरस फैलिरहँदा यो रोगको उत्पत्ति चमेरो, सर्पजस्ता जङ्ली जनाबरबाट भएको भनिए तापनि हालसम्म प्रमाणीत भएको छैन । यद्यपी विश्वमा देखा परिरहेका ७० प्रतिशत नयाँ रोगहरु पशुपन्छीबाटै उत्पत्ति हुने तथ्य भने सत्य हो । यो हिसाबले कोभिड १९ पनि पशुपन्छीबाटै उत्पत्ति भएको हुन सक्ने अनुमान गर्ने सकिन्छ ।
हालसम्म पशुपन्छीबाट यो रोग सरेको प्रमाण नभएता पनि मासु, अण्डा वा दूध सेवन गर्दा यो रोग सर्छ भनेर मानिसले भ्रम फैलाउने र सेवन गर्नै छाडेका छन् । यसले गर्दा भारतलगायत नेपालमा पनि अहिले पशुपन्छीजन्य पदार्थको उपभोग घटेको छ । तर, कोभिड–१९ लगायत जुनसुकै संक्रमणमा पनि शरीरको रोगसँग लड्न सक्ने क्षमता अर्थात् ‘इम्युनिटी पावर’ को विशेष महत्त्व हुन्छ । कुनै पनि संक्रमणविरुद्ध लड्न शरीरले एक प्रकारको रसायन निर्माण गर्छ । त्यस्तो रसायनलाई इम्युनोग्लोबुलिन भनिन्छ । यो इम्युनोग्लोबुलिन बन्न शरीरलाई प्रोटिनलगायत अन्य पौष्टिक तत्वको आवश्यक पर्दछ ।
विश्व स्वास्थ्य संगठनका अनुसार एक व्यस्क पुरुषलाई ५६ ग्राम र महिलालाई ४६ ग्राम प्रोटिन दैनिक रुपमा आवश्यक पर्दछ । कोविड–१९ बाट पनि इम्युनीटी पावर कमी भएका व्यक्ति बढी प्रभावित भएका छन् भने त्यस्तै व्यक्तिको मृत्यु भएका पाइएको छ । तसर्थ यो समयमा हामी सबैले रोगसँग लड्न सक्ने आफ्नो रोगप्रतिरोधी क्षमता बलियो बनाउन आवश्यक हुन्छ । त्यसका लागि पर्याप्त मात्रामा प्रोटिन सेवन गर्नु पर्दछ । पशुपन्छीजन्य उत्पादन, मासु, अण्डा, र दूध प्रोटिनको मुख्य स्रोत हुन् ।
प्रति १०० ग्राम कुखुराको मासु बाट २७ ग्राम, १ अन्डाबाट ६ ग्राम र एक गिलास दुधबाट ९ ग्राम प्रोटिन प्राप्त हुन्छ । त्यसैले हरेक दिन १०० ग्राम मासु, १ अन्डा र १ ग्लास दुध सेवन गर्दा कोरोना भाइरससँग लड्न सक्ने प्रतिरोधी क्षमता विकासमा मद्दत पुग्छ । यसै तथ्यलाई मनन गर्दै चीनमा कोरोना संक्रमणका बेला माछा मासु र अण्डाको खपत बढेको छ । कतिपय देशहरुमा कोरोना बिरामीको खानामा अण्डा अनिबार्य रुपमा प्रयोग भएको पाइन्छ । तर, भारतलगायत नेपालमा भने कुखुराको मासु र अन्डा सेवन गर्दा कोरोना सर्ने भन्दै मनिसले मासु र अण्डा खान छाडेका छ्न् ।
यसले एकातिर शरीरलाई आबश्यक पर्ने प्रोटिनको परिपूर्तिमा चुनौती थपिएको छ भने किसानले उत्पादन गरेको मासु र अण्डाले बजार पाएको छैन । मासु र अण्डाको सेवनबाट कोरोना भाइरस सर्ने कुनै तथ्य प्रमाणित नभएकाले यसको सेवन गर्दा डराउनु पर्ने देखिँदैन । यद्यपी कोभिड– १९ नयाँ रोग भएकाले यसको स्रोत, सर्ने माध्यमलगायतका अन्य पक्षहरुको जानकारी पर्याप्त छैन । त्यसैले पशुपंन्छीबाट पनि रोग सर्नसक्ने सम्भावनालाई बिर्सन भने हुँदैन । मासु, अण्डा र दूध राम्ररी पकाएर खानुपर्छ । पशुपन्छीलाई छोइसकेपछि राम्ररी हात धुनु पर्छ ।
पशुन्छीको पत्यक्ष संपर्कमा आउने किसान, मासु व्यवसायी, पशु चिकित्सकलगायत अन्यले बिशेष ध्यान पुराउनु पर्छ । त्यसैले अहिलेको समयमा भ्रमहरुको पछाडि नलागी सत्यतथ्यको आधारमा बिशेष साबधानी अपनाउनु पर्छ । आशा गरौँ सबैको सहयोग र धैर्यताले विश्वले छिट्टै कोरोनालाई जित्ने छ ।